file photo

६ पुष,उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले अब पार्टी एकता हुँदा अध्यक्ष र प्रधानमन्त्री फरक फरक व्यक्ति हुने वताएका छन् । चुनाव जितेलगत्तै राजधानी गएका महराले मतदातालाई धन्यवाद दिन दाङ जिल्ला फर्केपछि विभिन्न स्थानमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन् ,पार्टी एकता हुनेमा निश्चिन्त हुन सबैमा आग्रह गर्दै उनले पार्टी एकता सम्मानजक हुने बताए । “पार्टी एकता सम्मानजक हुन्छ, सम्मानजनक पार्टी एकता भनेको पदीय बाँडफाँड सम्मानजनक हुनु पनि हो,” उनले थपे, “अब पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक फरक व्यक्ति हुने दुबै दलबीच सहमति भइसकेको छ ।”

पार्टी एकता अपरिहार्य भन्दै उनले समाजवादी क्रान्ति पूरा गर्न एकता गर्न थालेको बताए । अब बाम सरकारको उद्देश्य समृद्धि र समाजवादको आधार तयार गर्नु रहेको उल्लेख गर्दै महराले एकताविरोधी कुरा कसैले गर्न नहुने बताए ।

दाङ प्रदेश राजधानी हुने कुरामा विश्वस्त हुन आग्रह गर्दै उनले नेपालगञ्जलाई आर्थिक क्षेत्र र बुटवल–भैहरहवालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर अघि बढ्ने धारण राखे ।