तस्वीर गुगल

पुस ४ (रासस) , पर्यटन प्रवद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनको छन्दुमा शुरु भएको छ ।काठमाडौँ महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्दु सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिवसीय नेपालसम्बन्धी फोटो प्रदर्शनी पनि शुरु गरिएको हो ।

दैनिक एक लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने वाइड न्यारो एलेमा कम्तीमा ६ लाख चिनियाँ तथा विदेशी पर्यटकले उक्त प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा नेपालका धार्मिक, सांस्कृतिक, पर्यटन, कला संस्कृतिसँग जोडिएका तस्बीर प्रदर्शनीमा राखिएको छ ।

प्रतियोगिता र प्रदर्शनीको उद्घाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रतियोगिता कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । चीन नेपालको दोस्रो ठूलो पर्यटक स्रोत भएको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा छन्दु सहर, सिछुवान प्रान्त र चीन सरकारले गर्दै आइरहेको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका मिडिया विज्ञ शरद प्रधानले नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफी पर्यटनको अवधारणा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामार्फत अझ धेरै चिनियाँलाई नेपालमा स्वागत गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको मौलिक संस्कृति, कला, रहन–सहन र पर्यटकीयस्थलबारे चिनियाँ नागरिकलाई जानकारी गराउन र नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या बढाउन फोटोग्राफी प्रतियोगिता र प्रदर्शनी गरिएको उहाँले बताउनुभयो ।कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

नेपाल पर्यटन बोर्ड, बेइजिंगस्थित नेपाली राजदूतावास, सिछुवान प्रान्तीय र छन्दु नगर सरकार, पर्यटनसँग सम्बन्धित स्थानीय संघसंस्था, चीनका फोटोग्राफी क्लब लगायतको सहकार्यमा उक्त कार्यक्रम साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो ।सन् २०१८ मा धेरैभन्दा धेरै चिनियाँ फोटोग्राफरलाई नेपाल भ्रमण गराउने र उनीहरुमार्फत सन् २०१९ मा पाँच लाख चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन सकिने सोसाइटीका अध्यक्ष धु्रव पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटनका अवसरमा सिछुवान प्रान्त र छन्दु नगरपालिकाका उच्च पदस्थ सरकारी अधिकारी, स्थानीय पर्यटन व्यवसायी, फोटाग्राफर क्लबका अधिकारी, पत्रकार, छन्दुमा अध्ययनरत नेपाली विद्यार्थीलगायत १५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको जनाइएको छ ।