पुस ४ गुजरात, विकास निर्माणका लागि राजनीतिक नेतृत्व इमानदार हुन जरुरी छ । साथै उसमा विकास निर्माणका लागि इच्छाशक्ति आवश्यक पर्दछ ।एउटा सांसदले चाहेमात्र पनि कुनै गाउँले एक वर्षमै विकास निर्माणमा कायापलट गर्न सक्छ भन्ने एउटा गतिलो उदाहरण छिमेकी मुलुक भारतको गुजरात राज्यको चिखली गाउँ बनेको छ ।
यो गाउँमा दुईवर्ष अघिसम्म मानिसहरु भौतिक सुविधाका लागि तड्पिने गरेका थिए । बाटो, खानेपानी, विद्युतको पहुँचबाट टाढा रहेको यो गाउँ अहिले आदर्श गाउँ बन्ने तयारीमा छ । एक वर्षको अवधिमै यो गाउँका ४५० घरमा खानेपानीको धारा जडान भइसकेको छ भने प्रत्येक घरमा शौचालय बनेको छ । गाउँमा एउटा शानदार पार्क बनेको छ भने सडकमा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
यो गाउँको विकासमा सांसद सीआर पाटिलको अहम् योगदान छ । नवसारी जिल्लामा पर्ने यो गाउँलाई सांसद पाटिलले एक वर्षअघि जिम्मा लिएरै विकास निर्माणका काम अघि बढाएका हुन् ।
उनले गाउँको विकासका लागि एक वर्षमा जम्मा तीन करोड रुपैयाँ खर्च गरेका छन् भने करिब अढाइ करोड रुपैयाँ ग्राम पञ्चायतले खर्च गरेको छ ।
सडकमा सौर्य प्यानलबाट विद्युतीकरण गरिएको छ, जसले गर्दा राति सबैजसो सडकमा बत्ती बल्छन् । गल्ली–गल्लीमा पिच गरिएको छ भने नदी किनारलाई हरियाली बनाइएको छ । कुनैबेला यो गाउँमा नयाँ आगन्तुक जान हिच्किचाउने गर्दथ्यो भने अहिले यो गाउँको विकास निर्माणको नमूना अध्ययनका लागि छरछिमेकका जिल्लाबाट समेत मानिस आउन थालेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।