तस्बिर : सिन्ह्वा

४ पुष,संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हेलेले आफ्नो राष्ट्रको निर्णय खारेजीका लागि ल्याइएको प्रस्तावलाई असफल पारिदिएकी छिन् । सोमबार राष्ट्संघ सुरक्षा परिषद्मा सदस्य राष्ट्रहरुले जेरुसेलम विवादमा अमेरिकी निर्णयविरुद्ध ल्याएको खारेज प्रस्तावमाथि अमेरिकाले भिटो (विशेष अधिकार) प्रयोग गरेको हो ।

केही हप्ताअघिमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षौँदेखिको विवादास्पद इजरायलको राजधानी जेरुसेलमको पहिचान गर्ने निर्णय गरेका थिए । ट्रम्पको उक्त निर्णयसँगै मध्यपूर्वका अधिकांश मुस्लिम राष्ट्रले अमेरिकी राष्ट्रपतिले गलत निर्णय गरेको भन्दै विरोध गर्दै आएका थिए । सोही निर्णयका कारण प्यालिष्टिनीहरुले हिंसात्मक प्रदर्शन गरेपछि इजरायली सेनाले उनीहरुविरुद्ध कारबाही अभियान थालिसकेको छ भने केही हताहत पनि भइसकेका छन् ।

सोही कारण इजिप्टको नेतृत्वमा सुरक्षा परिषद्मा अमेरिकी निर्णय खारेज गराउन प्रस्ताव लगिएको थियो तर त्यसलाई अमेरिकाले असफल पारिदिएको हो । अमेरिकाबाहेक बाँकी सबै १४ सदस्यराष्ट्रले प्रस्तावको समर्थन गरे पनि परिषद्को स्थायी सदस्यको नाताले अमेरिकाले भिटो लगाएको हो ।

सोही कारण मुस्लिम राष्ट्रहरुको प्रयास असफल भएको छ । उनीहरुले प्यालेष्टाइनलाई उचालेर आकस्मिक महासभाको आह्वान गर्नसक्ने एजेन्सीहरुले बताएका छन् ।राष्ट्रसंघमा भिटो लगाउने अधिकार अमेरिकाबाहेक रुस, चीन, बेलायत र फ्रान्ससँग पनि रहेको छ । एजेन्सी