भारतीय सुपरस्टार सलामान खान काठमाडौंको टुडिखेलमा हुने मनोरञ्जनात्मक कार्यक्रम ‘दबंग द टुर नेपाल’ मा सहभागी हुने भएका छन्।

 

२६ फागुन (१० मार्च) मा आयोजना हुने ‘दबंग द टुर नेपाल’ मा सहभागी हुन सलमान खान, बलिउड नायिका सोनाक्षी सिन्हा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल सहित कम्तीमा पाँच दर्जन कलाकार काठमाडौं आउने छन्।

काठमाडौंको नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो। भारतमा रहेको शोहेल खान प्रडक्सन र जेई इभेन्ट्ससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको ओडीसीका प्रबन्ध निर्देशक सिमान्त गुरुङले जनाएका छन्।

विनाशकारी भुकम्प र नाकाबन्दीपछि पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई न्यूनीकरण गर्दै नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको गुरुङले जनाए।