नेपाल आयल निगमले मंगलबार दुई प्रकारको इन्धनको मूल्य समायोजन गरेको छ। इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीको आधारमा निगमले बुधबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ वृद्धि गरेको हो।
निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार आईओसीले अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको मूल्यको आधारमा डिसेम्बर १६ मा पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन गरेको हो। मूल्य समायोजन पश्चात अब पेट्रोलको मूल्य प्रति लिटर एक सय एक रुपैयाँ तथा डिजेलको मूल्य ७८ रुपैयाँ कायम गरिएको छ। अन्य प्रकारका इन्धनको मूल्य भने समायोजन भएको छैंन्।
यसअघि लामो समय पश्चात् गत् मंसिर २२ गते सबै प्रकारको इन्धनको मूल्य समायोजन भएको थियो। मूल्य समायोजन पश्चात पेट्रोलको प्रति लिटर सय, डिजेल र मट्टितेलको प्रति लिटर ७७ र खाना पकाउने ग्यासलाई प्रति सिलिण्डर एक हजार तीन सय ५० रुपैयाँ कायम गरिएको थियो।
यसैगरी आन्तरिक उडानतर्फको हवाई इन्धनलाई प्रति लिटर ८७ रुपैयाँ र अन्तराष्ट्रिय उडानतर्फको हवाई इन्धनतर्फ आठ सय ५० युएस डलर प्रति किलोलिटर कायम गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।