काठमाडौं,३ पुस
प्रतिनिधि तथा प्रदेशसभामा बहुमत प्राप्त गरेपछि वामपन्थी घटक मध्येको माओवादी केन्द्रको आज काठमाण्डौँमा बैठक बसेको छ । हिजो संयुक्त पत्रकार सम्मेलनपछि आज बसेको बैठकलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।
बैठकमा माओवादी केन्द्रको बैठकले एमालेसँग पार्टी एकता गरिएपनि सम्मानजनक पदको बाँडफाँड हुनुपर्ने आवाज जोडतोडले उठेको छ । माओवादी केन्द्का अधिकांश नेताहरुले पार्टी एकता भए एमाले अध्यक्ष ओलीलाई हल्लामा उठिरहेको पद प्रधानमन्त्री ,पार्टी अध्यक्ष र संसदिय दलको नेता मध्ये कुनै पनि पद नदिन पनि सुझाव दिएका छन् ।
ओलीभन्दा नेतृत्व गर्ने अरु भएकाले यी तिनवटै पद नेतृत्वदायी हुनुपर्ने भन्दै ओलीलाई कुनै पनि पद नदिन माओवादीका प्रमुख नेताहरुले यस्तो सुझाव दिएका हुन् ।
‘नेतृत्वको विषयमा प्रष्ट हुनुपर्छ एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको नेता, प्रम र अध्यक्ष पद लिने जुन कुरा बाहिर आएको छ । त्यो कुनै पनि हालतमा स्वीकारै हुन्दैन । यसमा नेतृत्व स्पष्ट हुनु जरुरी छ’ उनीहरुको जोड थियो ।
यस्तै उनीहरुले पार्टी एकता र सरकार गठनलाई एकैसाथ अघि बढाउनुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यालय सदस्य उर्मिला अर्याल, मातृका यादव र देव गुरुङले अन्तर्घातका कारण विभिन्न निर्वाचन क्षेत्रमा पार्टी पराजित हुन पुगेको आरोप बताएका थिए ।
विषेशगरी गोरखा क्षेत्र नम्बर २ को चुनावी नतिजालाई लिएर बोलेका केहि नेताले त्यहाँ नारायणकाजी श्रेष्ठ प्रकाश हार्नुको कारण नै अन्तर्घात भएको दाबी गरेका थिए ।
यस्तै अर्का सदस्य पर्शुराम तामाङले बिचार, संगठन र नेतृत्वको विषयमा पार्टी स्पष्ट हुनुपर्नेमा जोड दिँदै सरकार बनाउनुपर्ने तर पार्टी एकताचाहिँ पछि गरिए त्यो गम्भीर गल्ती हुने धारणा राखे ।
बैठकमा बोल्दै प्रचण्डले वाम गठबन्धनका प्रभावशाली नेताहरु माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले उपाध्यक्ष वामदेव गौतम पराजित हुनु दुःखद भएको बताएका थिए। उनले दुबै नेतासहित अरु महत्वपूर्ण नेतालाई कसरी सँगै लैजाने भन्नेबारे गृहकार्य चलिरहेको पनि बताएको एक नेताले बताए । श्रेष्ठ गोरखा २ र वामदेव बर्दिया १ बाट पराजित भएका थिए ।
बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकार निर्माणर पार्टी एकताको कुरा सँगसँगै हुनुपर्ने बैठकले निश्कर्ष निकालेको बताइन् । ‘सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्छ’, उनले भनिन्, ‘सरकार पहिला बनाउने र पार्टी एकता पछि गर्ने भन्ने हुँदैन ।’
बैठकले राष्ट्रिय सभाको निर्वाचन राजनीतिक विषय भएको भन्दै हाल देखिएको विवाद राजनीतिक सहमतिको आधारमा हल गरिनुपर्नेमा जोड दिएको पनि उनले बताइन् ।
बैठकले सफलता पूर्वक चुनाव सम्पन्न गराएकोमा सरकारलाई धन्यवाद दिँदै वाम गठबन्धनलाई मत दिई अत्याधिक बहुमत दिलाउने जनतालाई पनि धन्यवाद दिएको छ ।
निर्वाचन आयोगसँग डाटा माग गरेर समानुपातिकको विषय टुंग्याउने पनि माओवादीले जनाएको छ । यी ४ रोडम्याप एकसाताभित्रको कार्ययोजना भएको र सोपछि चुनावी समिक्षा गर्न अर्को बैठक बस्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।