३ पुष,मध्यपूर्व । झण्डै एक महिना अगाडि भएको मिस युनिभर्स पिजेन्टमा इराकको प्रतिनिधित्व गरेकी थिइन् सारा इडानले ।

झण्डै ४५ वर्षपछि उनले पेजेन्टमा प्रतियोगीका रुपमा इराकको प्रतिनिधित्व गरेकी थिइन् । गायिका एवं गीतकार २७ वर्षीया इडान त्यसमा क्लाउड नाइनमा परेकी थिइन्, जुन उनको वर्षौँदेखिको सपना थियो ।

तर उक्त प्रतियोगिताको दौडान उनले खिचेको एउटा सेल्फीले उनीमाथि वज्रपात पारिदियो । इराककी इडानले मिस इजरायल आदर गान्डेल्सम्यानसँग लस भेगासमा खिचेको प्रिपिजेन्ट फोटोशूटकै कारण अहिले उनले र उनको परिवारले व्यापक रुपमा सामाजिक सञ्जालमा हत्याको धम्की सहनुपरेको छ ।

उनले इजरायली सुन्दरीसँग फोटो खिचेर शेयरमात्र के गरेकी थिइन्, उक्त फोटो हटाउन चेतावनी दिइयो । तर उनले दुवै देशको शान्ति र मायाको प्रतिनिधि भएको भन्दै सेल्फीको बचाउ गरेकी थिइन् ।

उक्त फोटोकै कारण मिस इराक अर्गनाइजेसन, इराकी मन्त्रालयसमेतबाट चेतावनी आएपछि उनको परिवार अहिले विस्थापित हुनुपरेको छ । इराक र इजरायलबीच प्रत्यक्ष कूटनीतिक सम्पर्क र सम्बन्ध नै नभएको भन्दै उनीमाथि इराकीहरु खनिएको बताइएको छ ।यी सबै हुनुका बाबजुद इडानले सेल्फी खिचेकोमा कुनै पछूतो नभएको प्रतिक्रिया दिएको एजेन्सीहरुले जनाएका छन् ।