पुस २,एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको निर्णयका विरुद्धमा इन्डोनेसियाको राजधानी जकार्तामा व्यापक प्रदर्शन भएको छ ।

उक्त निर्णयका विरुद्धमा अमेरिकाका विरुद्धमा विश्वका विभिन्न देशमा प्रदर्शन जारी रहेको बताइएको छ । यसैक्रममा आइतबार गरिएको अमेरिका विरुद्धको यो निर्णय व्यापक रहेको र यसमा दशौँहजार मुस्लिम नागरिकको सहभागिता रहेको पनि सो समाचारमा जनाइएको छ ।

यसअघि गत हप्तादेखि भएको सो घोषणाको विषयलाई लिएर विभिन्न देशले आन्दोलन शुरु गरेका थिए । सो आन्दोलन र विरोध प्रदर्शनको क्रम आइतबार पनि जारी रहेको बताइएको छ ।

प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास समूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान पनि भएको थियो । यो विरोधको क्रम अझै रोकिएको छैन ।

राष्ट्रपति ट्रम्पको निर्णयको विरोध चर्कंदै गर्दा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावास अगाडि पनि विरोध जुलुस निकालिएको थियो । गत हप्ताको सो प्रदर्शन अहिले पनि जारी नै रहेको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।

आइतबार पनि इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोेकेको थियो । त्यस क्रममा उसले अश्रु ग्याँस र पानीको फोहरा पनि हानेको थियो ।

तर जकार्ताबाट प्राप्त एक समाचारमा यहाँको प्रदर्शनमा कम्तीमा पनि ८० हजार नागरिकको सहभागिता रहेको छ । उनीहरुलाई यहाँबाट हटाउन सक्ने अवस्था नरहेको जकार्ता प्रहरीको भनाई छ ।

आइतबारको यस प्रदर्शनमा यहाँका सरकारी मुस्लिम संगठनहरुको पनि समर्थन र सहभागिता रहेको छ । ती संगठनहरुलाई इन्डोनेसियाको सरकारले पनि समर्थन गरेको जनाइएको छ ।

उता हालैका दिनहरुमा अमेरिकासँग राम्रो सम्बन्ध कायम रहेका संयुक्त अरब इमिरेट्स र साउदी अरेबियासमेत सम्मिलित अरब लिगले पनि राष्टपति ट्रम्पको यस निर्णयको आलोचना गरेका छन् ।

राष्ट्रपति ट्रम्पको उक्त निर्णयको विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनुपर्नेमा उनीहरुले आह्वान गरेका थिए । उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गर्दै उनले जेरुसलेमको इतिहासको सम्मान गरेको बताएका छन् ।

अरब र मुसलमान बहुल देशका विभिन्न सहरहरुमा गत हप्तादेखि नै प्रदर्शनहरु भएका छन् । लेबनानका अतिरिक्त इजिप्टको काइरो, मोरक्कोको रबातमा पनि आइतबार विरोध प्रदर्शन भएका समाचारहरु प्राप्त भएका थिए ।

त्यसैगरी टर्कीका राष्ट्रपति तैयब रेसप एर्दोगानले जेरुसलेम इजरायललाई सुम्पिने पक्षमा आफू नभएको प्रतिक्रिया हालै दिएका छन् । उनले अमेरिकाले उक्त निर्णय फिर्ता लिँदा राम्रो हुने बताएका छन् ।

इस्लामिक समूहका नागरिकहरुले विभिन्न इस्लाम बाहुल मुलुकहरु र स्थानमा अमेरिकाको उक्त निर्णयको विरोध गरेका छन् । उनीहरुले प्यालेस्टाइनको पक्षमा लाग्न सबै इस्लामहरुलाई आग्रह पनि गरेका छन् ।