२ पुष,अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी र चरम दक्षिणपन्थी फ्रिडम पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । संसदीय निर्वाचन सम्पन्न भएको करिब दुई महिनापछि ती पार्टीबीच सरकार गठनको सहमति भएको हो ।

 

गठबन्धनले नयाँ सरकार गठनका लागि राष्ट्रपति भान देर बेलेनलाई अवगत गराएका छन् । चुनावमा पिपुल्स पार्टीले जिते पनि सरकार गठन गर्न आवश्यक बहुमत नपुगेपछि गठबन्धन गरिएको हो । कुर्ज अस्ट्रियाको गभर्नर बन्ने र स्ट्यार्च भाइस चान्सलर बन्ने लगभग पक्कापक्की भएको छ ।

 

राष्ट्रपतिले सरकार गठनका लागि नयाँ गठबन्धनलाई अनुमति दिएपछि पिपुल्स पार्टीका नेता ३१ वर्षीय जेबास्टियन कुर्ज विश्वकै सबभन्दा कान्छा प्रधानमन्त्री हुनेछन् । पश्चिम युरोपमा चरम दक्षिणपन्थी पार्टी सरकारमा सहभागी गराउने अस्ट्रिया एक्लो मुलुक बन्नेछ ।

 

पिपुल्स पार्टीका जेबास्टियन कुर्ज र फ्रिडम पार्टीका हाइन्ज क्रिस्टियन स्ट्यार्चबीच नयाँ सरकारका लागि सहमति बनेको भए पनि सरकारका कार्यक्रमबारे विस्तृत विवरण दिइएको छैन । दुई महिनाअघिको चुनावमा कुर्जले युरोपको आप्रवासी संकटलाई मुख्य मुद्दा बनाएका थिए ।

 

कुर्जले कन्जरभेटिभ र दक्षिणपन्थी मतदातासँग आप्रवासीको युरोप प्रवेश गर्ने मार्ग बन्द गर्ने, शरणार्थीलाई दिँदै आएका सहुलियत नियन्त्रण गर्ने र अस्ट्रियामा बसेको पाँच वर्ष पूरा नभएसम्म राज्यका विभिन्न सुविधा नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

कुर्जले आफूहरूको नीति चोरेको फ्रिडम पार्टीले आरोप लगाएको छ । फ्रिडमले उनलाई ढोँगी नेताका रूपमा चित्रण गरेको थियो ।एजेन्सी