१ पुष,बेनी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको पावरहाउसको शिलान्यास गरिएको छ। आयोजनाका अन्य संरचनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोजनाका सञ्चालक एवं प्रबन्धक निर्देशक प्रमोद श्रेष्ठले पावरहाउसको शिलान्यास गरेका हुन्।
निलगिरी खोला किनारमा अवस्थित पावरहाउस आगामी ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पावर हाउस खोलाले कटान गर्न सक्ने सम्भावनालाई मध्यनजर गरी रिटेनिङ वालसहितको संरचना बनाइएको छ। निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक २०७१ सालबाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्र्याउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणको काम सकिएको प्रबन्धक निर्देशक श्रेष्ठले बताए।
सुरूङ मार्गदेखि पावर हाउससम्मको पेनस्टक पाइपसमेत ढुवानीको तयारी भइरहेको छ। पेनस्टक पाइपका लागि १० टन क्षमताको रोपवेका निर्माण कार्य सुरु भएको छ। आयोजनाको ड्याम, इन्टेकमा आवश्यक पर्ने निर्माण सामग्रीका लागि खोला नजिक मिनी क्रसर मेसिनको जडानले समेत निर्माण कार्यलाई सहज भएको आयोजनाले जनाएको छ। आयोजनाको मुख्य काम सुरूङ मार्गको फिनिसिङको कामलाई समेत तीव्रता दिइएको कम्पनी सचिव लक्ष्मीनिधि रिजाल ‘विमल’ ले बताए।पावर हाउसदेखि ड्यामसम्म करिब १५० मजदुर कार्यरत छन्।
सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिन्छ। रु ३८ करोड ५० लाख संस्थापक शेयर रहेको आयोजनामा विभिन्न वित्तीय संस्थाले लगानी गरेका छन्।
आगामी ६ महिनाभित्र परीक्षण उत्पादन गर्ने तयारी भएको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत विद्युत प्राधिकरणले खरिद गर्नेछ।
वार्षिक रु साढे १३ करोड बराबरको विद्युत् खरिद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ७ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद गर्ने जनाइएको छ।रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।