निर्वाचनको परिणाम आइसकेपछि सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा नियुक्त गरेको भन्दै वाम गठबन्धनमा आबद्ध दुई विद्यार्थी संगठनले विरोध जनाएका छन्। कामचलाउ अवस्थामा रहेको वर्तमान सरकारले मुलुकका विभिन्न स्थानमा एकपछि अर्को नियुक्ति गर्न राजनीतिकरुपमा उचित नभएको जनाउँदै अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी त्यसप्रकारको नियुक्ति खारेजी गर्न माग गरेको हो।
अनेरास्ववियुका महासचिव ऐन महर र अखिल (क्रान्तिकारी) महासचिव उत्तम अधिकारीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा आयोगलगायत अन्य स्थानमा गरिएका सबै नियुक्ति अविलम्ब बदर गर्न आग्रह गरिएको छ। उक्त आयोगको सदस्यमा मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रा डा चिन्तामणि पोखरेललाई नियुक्ति गरेको थियो।
राष्ट्रियसभा गठन र त्यससँग सम्बन्धित अध्यादेशका विषयमा विवाद निकालेर नयाँ सरकार निर्माणमा अवरोध नगर्न उक्त विज्ञप्तिमा भनिएको छ।रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।