पुस १ – नायक राजेश हमालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बधाई दिनुभएको छ । हमाल बधाई तथा शुभकामना दिन शनिबार ओली निवास बालकोटमा पुग्नुभएको थियो । स्थानीय तहको चुनावमा राजेश हमालले विद्यासुन्दर शाक्यलाई मत मागेका थिए । नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमालसँग कुरा गर्दै ओलीले राष्ट्रियताको अडानले आम नेपालीलाई उत्साहित बनाउँदै आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने बताउनु भएको छ ।
ओलीले हमालसँग भन्नुभयो, ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु, देश र जनताका निम्ति मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’
अध्यक्ष ओलीले चलचित्र नायकहरुले चलचित्रको अभिनयमा मात्र सिमित नभई देश बनाउनका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नायक राजेश हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउनु पर्ने भन्दै ओलीलाई शुभकामना दिनुभयो । देशको लागि आवश्यक पर्दा आफू जुनसुकै सहयोग गर्न तयार रहेको हमालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।