मलेसियालाई ७२ रनले हराउँदै नेपाल एसिसि यु १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्नेछ।

थाइल्याण्डको बैककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा झारिएको खेलमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनायो।

नेपालका लागि प्रतिश जिसीले सर्वाधिक २५ रन बनाए। नारायण जोशी र सुनिल भण्डारीले समान १७–१७ रनको योगदान दिए।नेपालको स्कोर ११ रन हुँदा ओपनर कुशल मल्ल ६ रनमा आउट भए। ३० रन हुँदा दोस्रो विकेटको रूपमा नेपालले विशालविक्रम केसीलाई १५ रनमा गुमायो। लगत्तै नेपालले ३६ रनमा तेस्रो विकेट खेर फाल्यो। राजन मगर ब्यक्तिगत ११ रनमा पेभेलियन फर्किए।

नेपालका मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न नसक्दा नेपालले ६७ रनमा बनाउँदा पाँच विकेट गुमायो। म्यानमारविरुद्ध सतक प्रहार गरेका कप्तान रित गौतमले ११ रन बनाए भने त्रितराज दाशले १३ रन जोडे।

१२८ रनको जवाफी लक्ष्यसहित ब्याटिङ गरेको मलेसिया २१ ओभर एक बलमा ५५ रनमा समेटियो। मलेसियालाई सस्तैमा आउट गराउने क्रममा नेपालका लागि सूर्य तामाङले चार तथा प्रतिश जिसीले तीन विकेट लिए।

नेपालको कसिलो बलिङ सामु मलेसियाले राम्रो सुरुवात गर्न सकेन। ६ रन हुँदा पहिलो विकेट गुमाएको मलेसियाले २६ रन बनाउँदा पाँच विकेट खेर फाल्यो। एकपछि अर्को विकेट गुमाएको मलेसियाले अरू १० रन जोड्दा थप चार विकेट गुमायो। मलेसियाका लागि सन्देश सुप्रमन्नियमले १६ रन बनाउनु बाहेक बाँकि खेलाडी दोहोरो रन बनाउन सकेनन्।

आजै भएको पहिलो सेमिफाइनलमा सिंगापुरले हङकङलाई आठ विकेटले पराजित गरेको थियो।