तस्वीर -गुगल

पुस १, २०७४-अमेरिकाको सेन्ट लुइसमा ४१ वर्षअघि जन्मेका ज्याक डोर्सी सामाजिक सञ्जाल ‘ट्वीटर’ का सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनको वेबसाइटले ग्राहकहरूलाई सोसल नेटवर्किङ र माइक्रो ब्लगिङको सुविधा प्रदान गर्छ । मिसौरी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी र न्युयोर्क युनिभर्सिटीमा केही समय उनले पढाइ गरेका हुन् । कम्प्युटर विज्ञान क्षेत्रका चर्चित उद्यमी बिल गेट्स, स्टिभ जब्स र मार्क जुकरबर्गझैं डोर्सी पनि ‘ड्रपआउट’ विद्यार्थी हुन् । आफ्नो पढाइ पूरा हुनुअघि नै उनले कलेज/विश्वविद्यालय छाडेका हुन् । सन् २००६ मा ‘ट्वीटर’ सुरु गरेलगतै डोर्सी त्यसका सीईओ बने । केही समयपछि उनी कम्पनीका अध्यक्षसमेत बने । सन २०१० मा उनले ‘अनलाइन पेमेन्ट प्लेटफर्म स्क्वायर’ कम्पनी सञ्चालन गरे । डोर्सीका बुबा अमेरिकी र आमा इटालेली हुन् । बाल्यकालमा उनलाई पुस्तक पढ्नमा निकै रुचि थियो । त्यसैले उनको घरको चारैतिर पुस्तकहरू छरपस्ट भेटिन्थे । सानै उमेरमा डोर्सीको रुचि कम्प्युटरमा उस्तै थियो । यो रुचिकै कारण उनले आफ्नो पढाइसँगै कम्प्युटर प्रोग्रामिङसमेत सुरु गरे । १३ वर्षको उमेरमा उनले कुरियर कम्पनी तथा टयाक्सी सेवामा प्रयोग हुने ‘डिस्प्याच रुटिङ’ अर्थात ‘टाइम किपर’ का रूपमा काम गरे । पछि उनले ‘ओपन सोर्स डिस्प्याच रुटिङ सफ्टवेयर’ नै बनाए । आज पनि धेरै ठाउँमा उनले विकास गरेको यो सफ्टवेयर प्रयोग हुने गर्छ ।

अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार ‘टयाटुड’ उद्यमी डोर्सी सन् २०१५ यता आफ्नो लोकप्रिय सामाजिक सञ्जाल मिडिया कम्पनीका सीईओ हुन् । उनले सन् २००६ मा एभ विलियम्स, बिज स्टोन र नोह ग्लासका साथ मिलेर ‘ट्वीटर’ खोलेका थिए । उनी कम्पनीका सहसंस्थापक हुन् । त्यसताका उनी दुई वर्षसम्म सीईओ भएरै काम गर्ने अवसर पाएका थिए । सन् २०१६ मा उनको कम्पनीले आफ्ना ८ प्रतिशत कर्मचारी (करिब ३ सय ५० जना) लाई अवकाश दिएर खर्च घटाउने निर्णय गरेको थियो । त्यसपछि डोर्सीले कम्पनीमा बाँकी रहेका कर्मचारीलाई ‘ओभर टाइम’ काम गरेमा एक तिहाइ सेयर दिने बाचा गरे । डोर्सीको आम्दानीको प्रमुख स्रोत सेल्फमेड ‘ट्वीटर’ कम्पनी नै हो । अमेरिकी राज्य क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा बसोबास गर्ने उनी सेल्फमेड स्कोरमा आठौं स्थानमा छन् । उनी यो वर्ष ‘फोब्र्स’ को चार सय जनाको सूचीमा ३५९ औं, अर्बपतिहरूमा १५६७ औं र अमेरिकी धनाढयमा ४८४ औं स्थानमा छन् । उनको कुल सम्पत्ति १२ डिसेम्बर २०१७ सम्ममा २ दशमलव ८ अर्ब अमेरिकी डलर (फोब्र्सको रियल टाइम नेट वर्थ) रहेको छ । बीचैमा पढाइ छाडी व्यापारमा लागेका उनी सन् २०१५ मा अमेरिकाको ४० वर्षमुनिका सबैभन्दा धनाढय उद्यमी र प्रविधि क्षेत्रमा सबैभन्दा धनी व्यक्तिहरूमा ९२ औं स्थानमा दरिएका थिए ।

डोर्सीले स्व–सिकाइका लागि कम्प्युटर संकेतलाई परिवर्तन गर्ने प्रविधिको विकाससमेत गरेका छन् । ‘बिजनेस इन्साइडर’ का कम्पनीका सीईओ हुन् तर उनको आफ्नै कुनै विशेष कार्यालय या डेक्स छैन । डेक्सको काम ‘आइप्याड’ बाटै गर्छन् । सुरुका दिनहरूमा उनी आफ्ना अभिव्यक्तिहरूलाई सार्वजनिक रूपमा राम्ररी प्रस्तुत गर्न जान्दैन्थे । आजसम्म पनि उनी आरामदायक सञ्चारक बन्न सकेका छैनन् । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘कहिलेकाहीँ केही समयका लागि म मौन हुने गर्छु, । तर, धेरैलाई थाहा हुँदैन कि म मौन अवधिमा के सोचिरहेको छु ।

मलाई लाग्छ म फेस–टु–फेस वार्तालाप गर्ने विशेषज्ञ होइन ? हो, बिल्कुलै होइन । यो मेरो प्राकृतिक स्थिति मात्र पनि होइन ।’ कुनै व्यक्ति सफल या धनाढय बनेपछि उसको जीवनशैलीमा व्यापक परिवर्तन हुने गर्छ । तर, डोर्सी त्यस्ता अर्बपतिमध्येका होइनन् । उनले आफ्नो अधिकांश समय रेलमा बिताए । जब उनी किशोरावस्थामा थिए, निर्धारित समयमा गन्तव्यमा पुग्न नक्साको प्रयोग गरी छोटो दूरी र कम समयमा पुग्न सकिने आकस्मिक साधानहरूको प्रयोग गरे । डोर्सीले एउटा प्रहरी स्क्यानरमा देखिने आपतकालीन डिस्प्याचहरूलाई राम्ररी सुन्ने गर्थे, यसैले उनलाई ट्वीटर बनाउन प्रेरित गरेको बताउँछन् । केही वर्षअघि ‘फोब्र्स’ ले आफ्नो एउटा आलेखमा उनलाई एउटा ‘बेवकुफ’ केटो भनेर खिसी गरेको थियो, सायद प्रकाशनले यो शब्द उनका लागि राम्रो हुने ठानेर लेखेको थियो । तर, उनी अखबारको यो प्रस्तुतिबाट प्रसन्न नभए पनि कतै सार्वजनिक रूपमा प्रतिक्रिया जनाएनन् । किनभने तात्कालिक प्रतिक्रियामा उनको विश्वास फिटिक्कै छैन ।

डोर्सी आफ्नो कम्पनीका कर्मचारीहरूलाई प्रोत्साहित गर्नका लागि गोल्डेन गेट ब्रिजमा लग्ने गर्छन् । यसो गर्नुको कारण उनको विचारमा एउटा राम्रो सफ्टवेयर पुलका रूपमा काम गर्न सक्नु हो । मानिसलाई यसको पछाडि रहेको इन्जिनियरिङबारेमा सोच्न नहुने धारणा राख्छन् । भन्छन्, ‘हामीले पुललाई हेर्दा यसको कला र इन्जियरिङलाई मात्रै नियाल्नुपर्छ, पुलको उपयोगिता भनेकै यसमा हरेक दिन मानिस ओहोरदोहोर गर्नु नै हो । जब मानिस ट्वीटरमा आउँछन्, तिनीहरू विश्वका बारेमा केही कुरा व्यक्त गर्न चाहन्छ, यस्तो अवस्थामा प्रविधि भन्ने वस्तु टाढा हुने गर्छ ।’ १९ वर्षको छँदा डोर्सी पहिलोपटक म्यानहटन पुगेका थिए । त्यहाँ पुग्दा उनी एक दिन नगरपिता (मेयर) बन्ने आंकाक्षा राखेका थिए । यसबारे उनी भन्छन्, ‘न्युयोर्क सहर एउटा आँधीको बीचमा रहेको कार जस्तै हो । सबै कुरा तपाईको वरपर भइरहेको हुन्छ तर तपाई त्यो कारभित्र सुरक्षित हुनुहुुन्छ । त्यसैले मलाई न्युयोर्क मनपर्छ ।’

‘ट्वीटर’ ले रकम कसरी कमाउँछ भन्नेबारे धेरैको चासो रहँदै आएको छ । ‘इन्भेस्टोपेडिया’ का अनुसार ‘ट्वीटर’ ले आफ्नो राजस्वको ८० प्रतिशत विज्ञापनबाटै कमाउने गर्छ । उसले आफ्नो वेबसाइटमा ‘प्रोमोटेड ट्वीट्स’, प्रोमोटेड एकाउन्ट’ र ‘प्रोमोटेड ट्रेन्ड्स’ जस्ता टुल्स राखेको छ । यी टुल्स उपयोग गर्न चाहने प्रयोगकर्ताहरूबाट केही रकम लिएर सेवा प्रदान गर्ने गर्छ । कम्पनीले ‘प्रोमोटेड ट्वीट्स’ लाई बजारमा बेच्ने गर्छ, त्यसपछि त्यो आफ्ना प्रयोगकर्ताहरूमा पुुग्छ । कम्पनीले एउटा ‘एल्गोरिथम’ को प्रयोग गरी ‘टेलर्ड विज्ञापन’ को अवसर सिर्जना गर्दै ‘प्रोमोटेड ट्वीट्स’ लाई सही प्रयोगकर्ताहरूको ‘टाइमलाइन्स’ मा पुर्‍याउने गर्छ । यसैगरी ‘प्रोमोटेड एकाउन्ट’ को विज्ञापनमार्फत लक्षित समूहका प्रयोगकर्तासम्म ‘हु टु फलो’ लिस्टमा भनेर सार्वजनिक गर्छ । ‘ट्वीटर’ को अर्को आम्दानीको स्रोत भनेको ‘डेटा लाइसेन्सिङ’ पनि हो । बर्सेनि विज्ञापनबाट उठ्ने राजस्व घट्दो भए पनि ‘क्यू ३ डेटा लाइसेन्सिङ’ र अन्य राजस्व २२ प्रतिशतले बढेको छ । फलस्वरूप कम्पनीको कुल राजस्वमा ४ प्रतिशतले ओरालो लागे पनि खासै प्रभाव नपरेको हो ।

‘ट्वीटरले चार कम्पनीहरूको नाममा ‘आधिकारिक डेटा पुनर्विक्रेता’ को भूमिकासमेत निर्वाह गर्ने गर्छ, यसले ती कम्पनीहरूको प्रत्यक्ष पहुँच सबै ट्वीट्समा हुने गर्छ । (एजेन्सी]