शनिबार काठमाडौंकोे न्यूनतम् तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलव ४ डिग्रीमा पुगेको थियो ।
तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण शनिबार उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ ।
तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताए ।
‘जाडोयाममा चिसो बढ्नु नौलो कुरो होइन । तर, यसमा उच्चचापीय क्षेत्रको केही प्रभाव (रातको समयमा आकास सफा र खुला) पनि देखिएकाले तुलनात्मकरुपमा तापक्रम घटेको र तुसारो परेको छ’–उनले भने ।
केही दिनयता पहाडी भेगमा हल्का बदली भएको छ भने मध्यतराईमा कुइरो लागेका कारण चिसो बढेकामा आइतबार बिहानदेखि क्रमिकरुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने’
मौसमविद् अर्यालको भनाइमा अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
शुक्रबार राति काठमाडौंको तापक्रम माइनसमा झरेको थियो । शनिबार यो वर्षकै बढी चिसो भएको महाशाखाको भनाइ छ ।
दुई दिनदेखि चिसो बढेपछि उपत्यकासहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिक सजक हुनुपर्ने विशेषज्ञले औंल्याएका छन् ।
महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम् २ दशमलव ८ र अधिकतम् २१ डिग्री सेल्सियस रहेको छ ।
सबैभन्दा कम जुम्लामा माइनस ४ र सबैभन्दा बढी दिपायलमा २५ डिग्री सेल्सियस रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।