पुस १, २०७४-चुनावी नतिजासँगै प्रदेश सरकार कस्तो बन्ने, राजधानी कहाँ हुने र मुख्यमन्त्री को–को हुने भन्ने विषयले तीव्रता पाएको छ । दलहरुले प्रदेशसभामा प्राप्त सिटको जोड–घटाउ गर्दै आ–आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत थालेका छन् । मुख्यमन्त्रीका दाबेदारहरुको दौडधुप पनि उत्तिकै तीव्र भएको छ । भौतिक पूर्वाधार र संरचनाहरु देखाएर राजधानी आ–आफ्नो क्षेत्रमा पार्न नेता–कार्यकर्ताको पहल झनै बढेको छ ।

यस प्रदेशका प्रत्यक्षतर्फका ६६ मध्ये ५७ सिटमा वाम गठबन्धनको जित भएको छ । कांग्रेसले ७, नयाँशक्ति र नेमकिपाको एक/एक सिट आएको छ । वाम गठबन्धनमा एमालेको ४२ र माओवादी केन्द्रको १५ सिट हो ।

मुख्यमन्त्रीमा एमालेका अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाइँ र राजेन्द्र पाण्डेको नाम बढी चर्चामा छ । प्रदेशको राजधानी आ–आफ्नै जिल्लामा बनाउन नेता–कार्यकताको व्यापक लबिइङ भइरहेको छ । समानुपातिकका ४४ सिटमध्य क्रमश: एमाले, कांग्रेस, माओवादी, विवेकशील र राप्रपा अगाडि छन् ।

प्रदेश ३ को सभामा वाम गठबन्धनको दुई तिहाइ सिट पुग्ने देखिएको छ । प्रदेश सरकार बनाउन एमाले एक्लैलाई बाटो खुलेको छ । प्रदेश ३ मा १ सय १० जनाको प्रदेशसभा हुनेछ । सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । एमाले एक्लैको प्रत्यक्ष ४२ र समानुपातिकमा १६ गरी ५८ सिट हुने निश्चित छ । वाम गठबन्धन एमाले र माओवादीको प्रत्यक्ष र समानुपातिक गरी ८० सिटभन्दा बढी हुने निश्चित छ । त्यस्तै, माओवादीको प्रत्यक्षमा १५ र समानुपातिकमा कम्तीमा ७ जना आउँदा पनि २२ सिट हुनेछ । दुवैको प्रत्यक्ष र सामानुपातिकको सिट जोड्दा कम्तीमा ८० सिट हुने सम्भावना छ । दुई तिहाइका लागि ७४ सिट आवश्यक पर्छ ।

‘एमाले एक्लैको सरकार बन्दैन । संयुक्त सरकार बन्नेछ,’ एमाले पोलिटब्युरो सदस्य एवं दोलखाबाट प्रदेशसभामा निर्वाचित सांसद पशुपति चौलागार्इंले भने, ‘कुन मन्त्रालय कसले लिने भन्ने छलफल भइरहेको छ ।’ विषयगत अनुभव व्यक्तिलाई निश्चित मन्त्रालयको जिम्मेवारी दिने गरी छरितो मन्त्रिमण्डल बन्ने उनले बताए ।

कांग्रेससहित अन्य दलले प्रत्यक्षमा ९ सिट मात्रै जितेका छन् । त्यसमा कांग्रेसको कम्तीमा ७, नेमकिपाको १ र नयाँ शक्तिको १ सिट छ । कांग्रेसले समानुपातिकमा कम्तीमा १३ सिट पाउने सम्भावना छ । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट संख्या वितरण गरिसकेको छैन । नेमकिपाको थप एक सिट समानुपातिकमा थपिनेछ । प्रदेशसभा सदस्य निर्वाचनले तोकेको एक दशमलव ५ प्रतिशतको थ्रेसहोल्ड कटाउनेमा एमाले, कांग्रेस, माओवादी, विवेकशील साझा पार्टी, राप्रपा, नेमकिपा र राप्रपा प्रजातान्त्रिक छन् । प्रदेश ३ मा कांग्रेस तेस्रो दल बनेको छ । नेमकिपा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्तिभन्दा विवेकशील साझा ठूलो दल भएको छ । निर्वाचन आयोगका अनुासर प्रदेश ३ मा समानुपातिकमा एमालेले ६ लाख ७७ हजार ३ सय १७, कांग्रेसले ५ लाख ५९ हजार २ सय ४९, माओवादी केन्द्रले ३ लाख १६ हजार ८ सय ७६ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाले १ लाख २४ हजार ४ सय ४२, राप्रपाले ५९ हजार २ सय ६८, नेपाल मजदुर किसान पार्टीले ४१ हजार ६ सय १० र राप्रपा प्रजातान्त्रिकले २८ हजार ८ सय ५५ मत ल्याएका छन् ।

३ नम्बर प्रदेशमा ६६ सिट प्रत्यक्ष र ४४ सिट समानुपातिक गरी एक सय जना प्रदेशसभा सदस्य हुनेछन् । यो प्रदेशमा चितवन, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली पर्छ । यो प्रदेश भारत र चीन दुवै मुलुकसँग जोडिएको छ ।

चुनावी परिणाम सार्वजनिक भएपछि प्रदेशको मुख्यमन्त्री को होला भन्ने चर्चा हुन थालेको छ । एक्लैको बहुमत भएकाले मुख्यमन्त्री एमालेबाटै हुने सम्भावना बढी छ । एमालेबाट अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं र राजेन्द्र पाण्डेको नाम चर्चामा छ । ‘पार्टीले मुख्यमन्त्रीको जिम्मेवारी लिनुपर्‍यो भनेर मलाई प्रदेशमा उठाएको हो,’ प्रदेश ३ की एमालेकी इन्चार्जसमेत रहेकी शाक्यले भनिन्, ‘इच्छा र चाहना त अरूले पनि गरेका होलान् । पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’ उनी काठमाडौं ८ (ख) बाट निर्वाचित हुन् ।

मुख्यमन्त्री एमालेकै भए पनि अन्य मन्त्रालय र पदमा ६०/४० को अनुपातमा बाँडफाँट गरिने माओवादी पोलिटब्युरो सदस्य एवं काभ्रेबाट निर्वाचित प्रदेशसभा सांसद रत्न ढकालले बताए । ‘सरकार बन्दा वाम गठबन्धनकै बन्छ । मन्त्रीको बाँडफाँट निर्वाचनमा भएको अनुपातमा हुन्छ,’ उनले भने, ‘सरकार बन्दा संविधानको घेराभन्दा बाहिर गएर बन्दैन ।’ कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ ।