पुस १, २०७४- ६ महिनाअघि लुक्ला विमानस्थलमा भएको गोमा एयरको कार्गो उडान दुर्घटनाको मुख्य कारण ‘पाइलट’ को कमजोरीलाई औंल्याइएको छ । पर्यटन मन्त्रालयले गठन गरेको दुर्घटना जाँच आयोगले शुक्रबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै गएको जेठ १३ गते भएको उक्त दुर्घटनाको कारकका रूपमा विगतमा झैं ‘मानवीय कमजोरी’ लाई आंैल्याएको हो ।
उड्डयन क्षेत्रको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय आयोगमा सदस्यसचिव रहेका पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार दुर्घटना भएको दिन लुक्लाको मौसम बिग्रेको थियो । पर्यटनमन्त्री जितेन्द्रनारायण देवलाई प्रतिवेदन हस्तान्तरण गर्नुअघि सहसचिव आचार्यले भने, ‘जहाज उड्नुपर्ने रुटबाट नगई दूधकोसी नदीलाई पछ्याउँदै अघि बढेको थियो । जुन उचाइमा उड्नुपर्ने हो, त्यसभन्दा केही तल थियो ।’ अवतरण हुनै लाग्दा धावनमार्गको पुच्छारमा भएको दुर्घटनामा चालकदलले धावनमार्ग नै प्रस्ट नदेखेर अवतरणको प्रयास गरेको अनुसन्धानबाट देखिएको उनले बताए ।
‘दुर्घटना हुनु ६४ सकेन्डअघि कोपाइलट मानन्धरले रनवे देखेको तर क्याप्टेनलाई भने कन्फ्युजन रहेको देखिन्छ । त्यसबेला लुक्ला विमानस्थलको मौसम बिग्रेको देखिन्छ । विमानस्थलको टावरमा रहेका एयर ट्राफिकले पनि ४/५ मिनेटअगाडि नै यसबारे पाइलटहरूलाई जानकारी गराइसकेका थिए तर पाइलटलाई डाइभर्ट गर्न सक्ने अवस्था भने थिएन,’ आचार्यले सुनाए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।