

मंसिर २९,बागलुङ – ताराखोला गाउँपालिकाको वस्ती नजिकै बनमा आगलागी भएको छ । ताराखोला गाउँपालिका – ५ औदारा भन्ने ठाउँबाट सुरु भएको आगो फैलिँदै वडा नम्बर – ४, मसिनाको भिरहुँदै तीनचुले सामुदायिक वन क्षेत्रमा पुगेको छ ।बिहीबार दिउसो स्थानीय टकबहादुर बुढाथोकीले आफ्नो खरबारीमा काँडा पोल्न लगाएका थिए ।
काम सकेर आगो निभाएको भए पनि स साना आगोका झिल्को फैलिएर बनमा आगलागी भएको हो । झण्डै १ सय हेक्टर बन जलेको छ ।दिउँसो २ बजेदेखि सल्किएको आगो फैलिएर गाउँतर्फ अघि बढेपछि बेलास्पुर, धस्मर, लाबाङसहित आसपासको बस्तीमा समेत आगलागीको जोखिम बढेको छ । स्थानीयवासीले दिउँसो देखि रातभर आगो निभाउने प्रयास गरे पनि अप्ठ्यारो भिरमा ठूलो आगो दन्किएकाले नियन्त्रणमा लिन नसकिएको ताराखोला–५ का वडा अध्यक्ष रामबहादुर रोकाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार २ सय भन्दा बढी स्थानीयवासी जम्मा भएर आगो निभाउन जुटिरहेका छन् । आगो सल्लाका रुख र सुकेको खरमा दन्किएपछि नियन्त्रणमा कठिनाई भएको हो ।स्थानीयवासी बस्तीमा आगो पस्न नदिन रातभर निभाउन सक्रिय भएका थिए । आगो आंशिक रुपमा नियन्त्रणमा आएको भए पनि पूर्ण रुपमा भने नियन्त्रणमा नआईसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।