हेटौँडा,२९ मंसिर,
मकवानपुरबाट प्रदेशसभामा निर्वाचित भएका नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनीया प्रदेश नंबर ३ को प्रदेशसभाको प्रतिपक्ष दलका नेता बन्नको लागि प्रयासको थालनि गरेका छन् ।

निर्वाचन अघि भएको विभिन्न आमसभामा आफुलाई प्रदेश नंबर ३ को मुख्यमन्त्रीको दाबेदारको रुपमा खडा गरेका बानीयाँले प्रदेश नंबर ३ मा कांग्रेसको नराम्रो पराजयसँगै प्रतिपक्ष दलको नेता बन्ने तयारी थालेको कांग्रेस मकवानपुर निकट श्रोतले दाबी गरेको छ ।

मकवानपुरबाट विजयी भएका उनले समानुपातिकको मतगणना सकिनै लाग्दा प्रतिपक्ष दलको नेताको लागि केन्द्रीय तहमा कुरा अघि बढाएको श्रोतको दाबी छ । यस विषयमा कुरा गर्दै कांग्रेस मकवानपुरका एक नेताले भने : हाम्रो चाहान त उहाँ मुख्य मन्त्री भएको हेर्ने थियो, तर त्यो पुरा नहुने भो त्यसैले अब प्रतिपक्ष दलको नेताको लागि प्रयास भैरहेको छ ।

नेपाली कांग्रेस मकवानपुरका सभापती बानीयाँ पुर्व गृहराज्य मन्त्री समेत हुन् । मकवानपुरको पाँच क्षेत्रमा वाम गठवन्धनले विजयको झण्डा फहराउँदा उनी एक्ला लोकतान्त्रिक गठवन्धनका उम्मेद्वार हुन जस्ले मकवानपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्न सफल बने ।