काठमाडौँ । प्रत्यक्षतर्फको मत परिणाम पछि अहिले समानुपातिक तर्फको मतपरिणाम आइरहेको छ । समानुपातिकतर्फको मत परिणाम आउदै गर्दा ५ वटा दलभन्दा बढी दलले राष्ट्रिय दलको मान्यता नपाउने देखिएको छ ।

अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता दल राष्ट्रिय दल बन्ने निश्चित भएको छ । तर हिन्दुत्व र राजतन्त्रको एजेन्डा लिएर चुनाव गएको राप्रपा प्रत्यक्षमा एक सिट जित्न सफल भएपनि समानुपातिक तर्फ भने थ्रेसहोल्डको सिमा भने कटाउन नसक्ने जस्तो देखिएको छ ।

समानुपातिक तर्फको मतगणना अन्तिम तिर पुगिरहेका बेला राप्रपाले दुई लाख मत कटाउन पनि सकिरहेको छैन । अहिलेसम्मको मतको ट्रेन्ड हेर्दा राप्रपा र विवेकशीलको २% को हाराहरीमा मत आउने देखिएको छ ।

त्यस्तै पछिल्लो समय चर्चामा रहेको दल विवेकशील साझा दलले प्रत्यक्षतर्फ सफलता हासिल गर्न सकेन भने समानुपातिकमा थ्रेस होल्डको सिमा कटाउन संघर्ष गरिरहेको देखिएको छ । विवेकशीलले पनि थ्रेस होल्डको सिमा ३% मत ल्याउन नसक्ने देखिएको छ ।

विवेकशीलले अत्यन्त फोकस गरेर आफुहरुलाई केन्द्रित गरेको काठमाडौँ जिल्लामा तेस्रो स्थानमा छ । विवेकशील एमाले र काँग्रेसपछि रहेको छ । त्यस्तै हिदुत्व र राजतन्त्रको एजेन्डा बोकेको राप्रपा भने पाचौ स्थानमा रहेको छ ।

विवेकशीलले यस चुनावमा गत स्थानीय चुनावमा पाएको मतलाई पनि जोगाउन नसकेको देखिएको छ । त्यस्तै ललितपुरमा स्थनीय चुनावमा ल्याएको मत पनि ल्याउन सकेको देखिदैन ।

काठमाडौँ बाहिरका जिल्लामा राप्रपा र विवेकशील दुबैले चुनाव अघिको दाबि जस्तो मत पाउन सकेको देखिएन । राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुरमा पनि राप्रपा समानुपातिकमा चौथो स्थानमा छ ।

काठमाडौँ बाहिर कैलालीमा बलियो मानिएको विवेकशीलले केबल ५ हजारको हाराहारीमा मात्र मत पाएको छ । त्यस्तै प्रत्यक्षमा एक सिट जितेको राप्रपाले झापा जिल्लामा समनुपैत्क तर्फ चौथो स्थानमा रहेको छ ।

यस पटक राष्ट्रिय दल बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने एजेन्डा बनाएको विवेकशील राष्ट्रिय दल बन्न मात्र असफल भएन प्रदेश तर्फपनि कुनै सिट जित्न असफल भयो । आफुलाई परिवर्तनको संवाहक बनाउने प्रयासमा रहेको विवेकशीललाई यस निर्वाचनले ठुलो धक्का दिएको छ ।

त्यस्तै गत २०७० सालको निर्वाचनमा समानुपातिक तर्फ अत्यन्त राम्रो मत पाएको तत्कालिन राप्रपा नेपाल र अहिलेको राप्रपा फुट र सत्ता लिप्साको कर्ण जनताबाट रिजेक्ट भएको छ । राप्रपाले बम गठबन्धनको सहयोगमा प्रत्यक्षमा एक सिट जितेपनि प्रदेश तर्फ जित्न असफल भएको छ भने समानुपातिकमा पनि थ्रेस होल्डको सिमा कटाउन संघर्ष गरिरहेको छ ।

राष्ट्रिय दलको मान्यता नपाउने देखिएपछि विवेकशील साझा दल र राप्रपा जस्ता दलहरुको भविष्य अब के हुन्छ भन्ने देखिएको छ । यद्यपी दुवै दलले चुनावी परिणामका बारेमा आधिकारिक धारणा अझै सार्वजनिक गरेका छैनन् ।