२८ मंसिर,उत्तर कोरियाले आफ्ना नेता किम जोङ–उन मौसमलाई नियन्त्रण गर्न समर्थ रहेको दाबी गरेको छ । किम चीनको सिमानानजिक पाएक्तु पर्वतको शिखरमा उभिएको तस्वीर सार्वजनिक भएपछि यस्तो दाबी गरिएको हो । पाएक्तु पर्वत नौ हजार फीट अग्लो छ र किमले चम्किलो कालो जुत्ता तथा औपचारिक कपडा लगाएर पर्वतको टुप्पोमा घुमेको देखिन्छ ।
उनको यो सफलतालाई सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीले प्रशंसा ग–यो । पर्वतमा राम्रो मौसम भएबाटै किम मौसम नियन्त्रणमा सक्षम रहेको प्रमाणका रूपमा उसले प्रस्तुत ग–यो ।
डिसेम्बरमा प्रायः पाएक्तु पर्वतको मौसम असहज हुन्छ तर किम पर्वतमा चढेपछि ‘महान् नेताको दर्शन पाएर पर्वतको वातावरण मुग्ध देखिन्थ्यो,’ केसीएनए लेख्छ ।
दक्षिण कोरियाली सरकारका एक अधिकारीले किमको पछिल्लो प्रोपागान्डाले उनी कुनै उच्च अधिकारीलाई मृत्युदण्ड दिने योजना बुनिरहेको संकेत हो भनेका छन् ।
महत्त्वपूर्ण निर्णयहरू लिनुअघि किम पाएक्तु पर्वत पुग्ने गर्छन् ।
पाएक्तुलाई उत्तर कोरियाका प्रथम नेता किम इल–सुङको पवित्र जन्मभूमिका रूपमा मानिएको छ ।
कोरियाका सबभन्दा पहिला नेता दांगुनको यो जन्मभूमि रहेको मान्यता छ । दांगुनले इसापूर्व २३३३ मा कोरियाली राज्य स्थापना गरेको मान्यता छ ।
यो पर्वतमा अहिलेसम्मकै सबभन्दा खतरनाक ज्वालामुखी विस्फोट भएको मानिन्छ अनि उत्तर कोरियाले आणविक हतियार परीक्षण गरिरहँदा ज्वालामुखी फेरि विस्फोट हुने सम्भावना छ । द डेली मेलबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।