२८ मंसिर,थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । म्यानमारलाई पारजित गरेसँगै नेपाल समूह विजेता बनेको हो । ३५१ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको म्यानमारका कुनै पनि खेलाडी खुलेर खेल्न सकेनन् । म्यानमारले ११.३ ओभरमा सबै विकेटको क्षतिमा १३ रनमात्रै बनाउन सक्यो ।

म्यानमारलाई सस्तैमा अलआउट गर्नका लागि नेपालका नारायण जोशी र मेखबहादुर सेन थापाले समान ४–४ विकेट लिए । म्यानमारले बनाएको यो १३ रनको स्कोर जारी प्रतियोगिताकै सबैभन्दा कम रन हो ।

नेपालले उमेर समूहमा यति ठूलो अन्तरमा पराजित गरेको यो पहिलो पटक हो । नेपाली बलरसामु म्यानमारका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रित गौतमले शतकीय पारी खेलेपछि नेपालले म्यानमारलाई फराकिलो चुनौती दिएको थियो । त्यस्तै नेपालका तृतराज दास र प्रतिश जिसीले अर्धशतकीय पारी खेलेपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३५० रन बनाएको थियो ।

नेपालको उच्च योगफलका लागि  रितले अविजित १०६ रन बनाए । रितले  ७८ बलमा १२ चौका प्रहार गरेका थिए । अघिल्ला दुई खेलमा जम्न नसकेका रित म्यानमारविरुद्ध शतक बनाउँदै  नेपाली यु – १६ को उमेर समूहमा शतक बनाउने पहिलो नेपाली खेलाडी बने ।

यस्तै अविजित रहेका प्रतिशले आक्रामक ब्याटिङ्ग गर्दै ३१ बलमा ६३ रन बनाए । उनले १० चौका र १ छक्का प्रहर गरे । तृत राज दासले २९ बलमा ६४ रन जोडेर अर्धशतक बनाए ।  त्यस्तै नेपालका विशालविक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास आयरले १७ रन जोडे । म्यानमारका हेइन हेट एङले ३ विकेट लिए  ।