मंसिर २७, एजेन्सी,कप्तान रोहित शर्माको किर्तिमानी प्रदर्शनमा भारतले दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकालाई पराजित गरेको छ । चन्द्रिगढमा बुधबार कप्तान शर्माले किर्तिमानी तेस्रो पटक दोहोरो शतक बनाएपछि भारतले श्रीलंकालाई १४१ रनले पराजित गरेको हो ।
पन्जाब क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा ४ विकेट गुमाएर ३९२ रनको विशाल योगफल तयार गरेको थियो । भारतको उच्च स्कोरमा कप्तान शर्माले दोहोरो शतक बनाए ।
नियमित कप्तान बिराट कोहलीको अनुपस्थितिमा कप्तानी पाएको रोहितले अविजित २०८ रनको योगदान दिए । उनले १५३ बलमा १३ चौका र १२ छक्का प्रहार गरेका थिए । योसँगै एकदिवसीय क्रिकेटमा रोहितले तीन दोहोरो शतक बनाएर किर्तिमान बनाए । तीन पटक दोहोरो शतक बनाउने एक्ला खेलाडी बनेका रोहितले यसअघि श्रीलंकाविरुद्ध २०१४ र अष्ट्रेलियाबिरुद्ध २०१३ मा दोहोरो शतक बनाएका थिए ।
त्यसबाहेक भारतका श्रीयास आयरले ८८ रन बनाउदा शिखर धवनले ६८ रन जोडे । त्यस्तै हार्दिक पण्ड्याले ८ रन जोड्दा पूर्व कप्तान महेन्द्र सिंह धोनीले ७ रन बनाए । श्रीलंकाका थिसारा परेराले ३ तथा सचिथ पाथीरानाले १ विकेट लिए ।
भारतले दिएको ३९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले पुरै ५० ओभरमा ८ विकेट गुमाएर २५१ रन मात्र बनाउन सक्यो । श्रीलंकाका एन्जेलो म्याथ्युजले १११ रनको अविजित शतक बनाएपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै श्रीलंकाका असेला गुणारत्नेले ३४, निरोशन डिक्वेलाले २२ तथा लाहिरु थिरिमानेले २१ रन बनाए । भारतका युजभेन्द्र चाहलले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए ।
यो जितसँगै भारतले तीन खेलको सिरिज १ – १ को बराबरी गरेको छ । आइतबार भएको पहिलो खेलमा भारत ७ विकेटले पराजित भएको थियो । अब दुई टोलीबीचको अन्तिम एकदिवसीयले सिरिज जित्नेको टुंगो लाग्ने छ । अन्तिम एकदिवसीय आइतबार हुने छ । त्यसपछि दूई टोलीबीच तीन खेलको टि – ट्वान्टी सिरिज हुने छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।