२७ मंसिर — उत्तर कोरियासँग आणविक युद्धको खतरा बढ्दै गएपछि संसारलाई बचाउन अमेरिकाले नयाँ कूटनीतिक कदम चालेको छ । उसले उत्तरसामु झुक्दै कुराकानी शुरु गर्ने भनेको छ ।अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले कुनै पनि पूर्वशर्त नराखिकनै उत्तरसँग संवाद शुरु गर्ने बताएका छन् । मंगलवार एक भाषण गर्दै टिलरसनले उत्तर कोरियालाई प्रस्ताव गरे, ‘लौ, भेटौं ।’
उनको यो प्रस्तावपछि अमेरिकाले आफ्नो मागबाट पछि हटेको संकेत पाइएको छ । आणविक निःशस्त्रीकरणको स्थितिमा मात्र उत्तर कोरियासँग वार्ता सम्भव रहेको यसअघि अमेरिकाले बताउँदै आएको थियो ।
उत्तर कोरियाले लगातार उन्नत किसिमका आणविक परीक्षण र क्षेप्यास्त्र प्रक्षेपण गरिरहँदा दुई देशबीचको तनाव बढेको छ । दुवैले एकअर्कालाई आरोप प्रत्यारोप पनि गरिरहेका छन् ।
उत्तर कोरिया तयार भएमा अमेरिका उससँग वार्ता गर्न तयार रहेको टिलरसनको भनाइ छ । टिलरसनको यो भनाइमा राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थन छ कि छैन भन्ने कुरा प्रस्ट छैन ।
यसअघि पनि टिलरसनले कूटनीतिक वार्तामार्फत विवाद मिलाउनुपर्ने बताउँदा ट्रम्पले टिलरसन समय बर्बाद गरिरहेका छन् भनेका थिए ।
उता उत्तर कोरियाले चाहिँ अमेरिकासँग कुराकानी गर्न आफूलाई कुनै रुचि नभएको बताएको छ । अमेरिकाको भूमिमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र पूर्ण विकसित नभएसम्म वार्ता सम्भव नभएको उसको दाबी छ ।
यसका बाबजुद टिलरसनले अमेरिका शान्तिपूर्ण कूटनीतिमार्फत उत्तर कोरियाको समस्या हल गर्न चाहेको बताउँछन् ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।