मंसिर २६,प्रत्यक्षतर्फको प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा अन्तिम अवस्थामा पुग्दै गर्दा एउटै पानामा छापिएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको मतगणना धमाधम भइरहेको छ।

मंगलबार दिउँसो २ बजेसम्म निर्वाचन आयोगले उपलब्ध गराएको प्रदेश सभाको समानुपातिक मतपरिणाम अनुसार प्रदेश ४ मा राष्ट्रिय जनमोर्चा र प्रदेश ३ मा विवेकशील साझा र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सिट पाउने सम्भावना देखिएको छ।

प्रदेश सभाका लागि १.५ प्रतिशतमात्र थ्रेसहोल्ड राखिएको र भाजक पनि सुरुको अङ्क अघिल्लो संविधान सभा निर्वाचनमा जस्तो १.४ बाट सुरु नगरी १ बाट सुरु गरिएकोले कम मत ल्याउनेको पनि प्रतिनिधित्व हुने सम्भावना छ।

दिउँसो २ बजेसम्मको मतपरिणामलाई अन्तिम मानी प्रदेश सभा निर्वाचन ऐन २०७४ को मत परिणाम विभाजक सूत्र लगाई हेर्दा प्रदेश ४ मा प्रमुख तीन दलबाहेक राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिको सम्भावना देखिएको छ। यो प्रदेशको जारी मतगणनामा यी पार्टी चौथो र पाँचौँ स्थानमा छन्।

त्यसैगरी राजधानी काठमाडौँसमेत रहेको प्रदेश नम्बर ३ मा तीन ठूला दल बाहेक विवेकशील साझा, राप्रपा र नयाँ शक्तिको पनि सम्भावना देखिएको छ। विवेकशील साझाले विशेष गरी काठमाडौँमा धेरै भोट ल्याइरहेको छ। जारी मतगणनामा विवेकशील साझा तेस्रो, राप्रपा चौथो र नयाँ शक्ति पाँचौँ स्थानमा छ।