मंसिर २६,प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका २० मध्ये पाँच महिला विजयी भएका छन् । चार महिला उम्मेदवारको अझै नतिजा आइसकेको छैन । माओवादी केन्द्रका तीन, एमाले र राष्ट्रिय जनमोर्चाबाट एक–एकजनाले प्रतिनिधिसभा सदस्यको सिट सुरक्षित गरेका हुन् ।

माओवादीबाट कञ्चनपुर–१ मा विना मगर, ललितपुर–३ मा पम्फा भुसाल र रुकुम पूर्वमा कमला रोका विजयी भएका छन् । त्यस्तै, झापा–२ बाट एमालेकी पवित्रा निरौला खरेल र प्युठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सांसद निर्वाचित भएका छन् ।

कञ्चनपुर–१ मा बिनाले कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई, ललितपुर–३ मा भुसालले कांग्रेसका मदन अमात्यलाई, रुकुम पूर्वमा रोकाले कांग्रेसकै हरिशंकर घर्तीमगरलाई पराजित गरे । झापा–२ मा खरेलले कांग्रेसका उद्धव थापा र प्युठानबाट पौडेलले कांग्रेसका डा. गोविन्दराज पोखरेललाई पराजित गरे ।

संविधानले ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने व्यवस्था गरे पनि दलहरूले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निकै थोरै उम्मेदवार बनाएका थिए ।१६५ सिटमा कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्रले चार, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एकजना महिला उम्मेदवार बनाएका थिए । राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा र संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा महिला उम्मेदवार नै बनाएनन् ।यो खबर आजको नयाँ पत्रिकामा छ ।