२६ मंसिर बेनी,म्याग्दीको सिंगा गाउँका युवाले पशुपालन र दूध बिक्रीबाट मनग्गे आम्दानी गरेका छन्। बेनी नगरपालिका वडा नंम्बर ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक एक करोड कमाउन थालेपछि सिंगाको चर्चा जिल्लाभरि हुन थालेको छ।

दूध बिक्री गरेर मासिक प्रतिव्यक्ति ४० देखि १ लाखसम्म कमाउने गरेका सिंगाका नवराज पौडेलले बताए।खाडी मुलुक कतारबाट फर्किएपछि गाउँमै भैँसी खरिद गरी दूध बेच्न थालेका बेनपा–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट मासिक एक लाखभन्दा बढी कमाउन थालेको जानकारी दिए। उनले २०६८ सालदेखि एक लाख लगानीमा दुईवटा भैंसी किनेर  दूध बेच्न थालेका हुन्।

दूधबाट राम्रो आम्दानी देखेपछि केसीले अहिले ६ वटा भैँसी र एउटा उन्नत जातको जर्सी गाईबाट दैनिक ७० लिटर दूध बजारमा लैजाने गरेका छन्। केसीमात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिक रुपमा दूध बिक्री गरेर मासिक १ लाखभन्दा बढी कमाइ गर्दै आएका छन्।

गाउँमा जनभावना दुग्ध सहकारी संस्था स्थापना भएपछि घर–घरमा व्यावसायिक पशुपालनका लागि प्रोत्साहित गरिएको छ। सहकारीमार्फत ३ सय र किसानले व्यक्तिगत रुपमा १ सय ५० लिटर दूध बजारमा पुर्‍याउने गरेको सहकारीका सञ्चालक कोपीलाल पौडेल बताउँछन्। ‘एक करोड त हिसाबै देखिन्छ। योभन्दा धेरै बिक्री हुन्छ’, पौडेलले भने। बजारमा प्रतिलिटर ८५ रुपैयाँ सम्ममा बिक्री हुने भए पनि किसानले भने ६५ रुपैयाँ प्रतिलिटरमा सहकारीलाई दूध बेच्दै आएका छन्।

गाउँबाट एउटै किसानले दैनिक सरदर ५५ लिटरसम्म दूध बेच्ने गरेका छन् भने करिब ४२ घरमा व्यावसायिक रुपमा गाई-भैँसी पालिएको छ। पशु सेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सहकारीले संकलन गरेको दूध बजार लैजान कर्मचारीसमेत परिचालन गरेको छ। सहकारीमार्फत दूध बेच्ने किसानका नाममा सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ। सहकारीले लगानीसमेत गर्ने भएकाले पनि किसान सहकारीको अभियानमा आकर्षित भएका हुन्। रासस