२६ मंसिर,उत्तर कोरियातर्फ भागेका अनि त्यहाँ लगभग ४० वर्ष कैदीका रूपमा रहेका अमेरिकाका पूर्वसर्जेन्टको मृत्यु भएको छ । चार्ल्स जेन्किन्स नामक ती सैनिक जापानमा बस्ने गर्थे जहाँ उनी सन् २००४ मा थुनामुक्त भएपछि परिवारका साथ बस्थे ।
सन् १९६० को दशकमा भगौडा भएका चार अमेरिकी सैनिकमध्ये उनी एक थिए । उनीहरू उत्तर कोरियामा फिल्म स्टार भए तर थुनामुक्त हुने चाहिँ जेन्किन्स मात्र थिए ।
अरूहरू उत्तर कोरियामै मरिसकेको बताइन्छ । जेन्किन्सको मृत्यु सोमवार सादो टापुमा भएको थियो जहाँ उनी श्रीमती हितोमी सोगासँग बस्थे । सोगा पनि उत्तर कोरियामा बन्दी थिइन् ।
जापानी सञ्चारमाध्यमहरूका अनुसार, उनी घरबाहिर लडेका थिए र पछि अस्पतालमा उनको मृत्यु भयो । उनलाई मुटुको समस्या थियो ।
जेन्किन्सले उत्तर कोरियामा असाधारण तर मुश्किल जीवन बिताएका थिए जसलाई उनले संस्मरण र धेरै अन्तर्वार्ताहरूमा उल्लेख गरे ।
सन् १९६५ मा उनी अमेरिकी सैनिकका रूपमा दक्षिण कोरियामा खटिएका थिए । उनी कोरियाको सीमाक्षेत्रमा रहेको डिमिलिटराइज्ड जोनमा खटिँदा उनले आफ्नो इकाइलाई छोडेर उत्तर कोरिया भाग्ने निधो गरे । उनलाई गस्तीको क्रममा मरिने वा भियतनाममा पठाइने डर थियो ।
उनले उत्तर कोरियामा पुगेपछि रुसी दूतावासमा शरण लिन सकिने र कैदी साटासाटका क्रममा अमेरिका फर्किन सकिने आशा गरेका थिए ।
जेन्किन्स अनुसार, उनले जनवरीको एक रात टन्नै बीयर पिए, डिमिलिटराइज्ड जोन पार गरे अनि उत्तर कोरियाली सैनिकसमक्ष आत्मसमर्पण गरे । त्यतिखेर उनी जम्मा २४ वर्षका थिए । तर रुसले उनी र अन्य अमेरिकीलाई शरण दिएन । उनीहरूलाई उत्तर कोरियाले बन्दी बनायो ।
उनीहरूलाई त्यतिखेरका नेता किम इल–सुङका विचारधारा पढ्न लगाइयो । उनले अनुवादको काम गरे र अंग्रेजी पढाए । उत्तर कोरियाको प्रोपागान्डा फिल्महरूमा उनीहरूलाई पश्चिमा खलनायकको भूमिका दिइयो ।
जेन्किन्सका अनुसार, उनलाई बन्दी बनाउनेहरूले उनलाई प्रायः कुटपिट गर्थे र उनीमाथि अनावश्यक र क्रूर चिकित्सा गर्थे । उनको शरीरमा रहेको अमेरिकी सेनाको ट्याटूलाई उनीहरूले लठ्याउने औषधि प्रयोग नगरिकनै काटेर फालेका थिए । त्यतिखेर नारकीय अनुभव भएको जेन्किन्स बताउँछन् ।
थुनामुक्त भएपछि पनि जेन्किन्सलाई बन्दी बनाउनेहरूसँग डर लागिरहन्थ्यो र उनी आफू र आफ्नो परिवारको हत्या होला भनी चिन्ता लिइरहन्थे । बीबीसीबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।