२२ मंसिर,नेकपा एमालेले संविधानसभाद्वारा संविधान जारीपछिको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो निर्वाचन सम्पन्न भएकामा सन्तोष व्यक्त गरेको छ।
एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले विज्ञप्ति जारी गरी निर्वाचन प्रक्रियामा सक्रियतापूर्वक संलग्न मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई धन्यवाद दिँदै राजनीतिक नेतृत्व गर्नुपर्ने सरकारको अस्तव्यस्त कार्यशैली र अनिच्छाबीच निर्वाचन सम्पन्न भएकामा सन्तोष व्यक्त गरेको हो।
कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निर्वाचनसँगै मुलुकमा जारी राजनीतिक संक्रमणकाल अन्त्य हुने र राष्ट्रिय एकता, स्थिरता, विकास तथा समृद्धिको नयाँ युग सुरु हुने अपेक्षा गर्दछौँ।”
एमालेले सुनसरी, सर्लाही, भक्तपुरलगायत जिल्लामा निर्वाचन प्रक्रियालाई अवरोध गर्ने तथा स्याङ्जा र डोटीका केही स्थानमा मतदान केन्द्र नियन्त्रणमा लिने घटनासमेत भएको जनाउँदै दैलेखमा गम्भीर घाइते हुनेगरी कृष्णराज बुढा र उत्तमकुमार शाहीमाथि आक्रमण गरिएकामा चिन्ता व्यक्त गरेको छ।
डडेल्धुरामा एमाले कार्यकर्तामाथि झुटो मुद्दा लगाउने र हतोत्साहन गर्ने कार्य भएको तथा मतदानसम्पन्न भएलगत्तै पार्टीका कार्यकर्तामाथि सत्ताधारी दलका कार्यकर्ताद्वारा दाङलगायत विभिन्न जिल्लामा भएका आक्रमण भएको जनाउँदै एमालेले त्यसप्रति खेद व्यक्त गरेको छ। रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।