मंसिर २१,रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगको समूह चरणको सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।रोनाल्डोको गोलको मद्दतले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३–२ ले पराजित गरे पनि रियल समूह एचको दोस्रो स्थानमा सिमित बनेको छ ।रोनाल्डोले डि एरियाको छेउबाट उत्कृष्ट गोल गर्दै यस सिजन प्रतियोगिामा नवौँ गोल पूरा गरे ।

योसँगै उनले च्याम्पियन्स लिगमा ११४ औँ गोल पूरा गरेका छन् । नजिकका प्रतिद्वन्द्वी बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीभनदा १७ गोल बढी हो ।टोटनहम हटस्पर्सपछि समूहमा दोस्रो स्थान पक्का गरिसकेको रियलले सोमबार हुने ड्रमा रोमा, बेसिक्टास, पेरिस सेन्ट जर्मेन, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड वा लिभपुरलाई प्रतिद्वन्द्वी पाउनेछ ।समूह चरणमा मात्र २ अंक बटुलेको डर्टमण्डले युरोपा लिगमा स्थान पक्का गरेको छ ।

बोर्जा मायोरालले रियललाई अग्रता दिलाए पछि रोनाल्डोले रियलको अग्रता दोब्बर बनाएका थिए । तर, पियरे एमेरिक आउमाबेयाङले दुई हाफमा एक–एक गोल गर्दै खेल बराबरी गरे । खेलको अन्त्यतिर लुकास भाजक्वेजले निर्णायक गोल गर्दै रियललाई जीत दिलाए ।उता, टोटनहमले एपोएल निकोसियलाई ३–० ले पराजित गर्दै समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ ।टोटनहमको जीतमा फर्नान्डो लोरेन्टे, सन हिउङ–मिन र एन्कोडुले एक–एक गोल गरे ।स्पर्स बासेल, बायर्न म्युनिख, युभेन्टस, पोर्टो, सेभिया वा साख्तार डोनेस्कमध्ये एकलाई प्रतिद्वन्द्वीको रुपमा पाउने सम्भावना रहेको छ ।एजेन्सी