२१ मंसिर,एजेन्सी
पेरिसः चर्चित फ्रान्सेली रक गायक जोनी हलिडेको ७४ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। फ्रान्सेलीहरूले उनलाई ‘हाम्रा जोनी’ भनेर सम्बोधन गर्थे। तर बाहिर उनी अपरिचित जस्तै थिए। उनकी श्रीमती लेटिसियाले एक विज्ञप्तिमार्फत् भनेकी छन्, ‘जोनी हलिडेले हामीलाई छाडेका छन्। म यी शब्दहरूप्रति आफैँ विश्वस्त हुन सकिरहेकी छैन तर यो सत्य हो कि मेरा श्रीमान हामीसँग रहेनन्।’ उनले जोनीले पूर्ण साहस र सम्मानका साथ जीवन बाँचेका पनि उल्लेख गरेकी छन्। हलिडेको वास्तविक नाम जाँ–फिलिप स्मेट हो। सन् १९५७ मा एल्भिस प्रेस्ली गाएपछि उनले गायक बन्ने सोच राखेका थिए। उनका फ्यानहरूले उनको उपनाम फ्रेन्च प्रेस्ली राखिदिएका थिए। जोनीको मृत्युमा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले भने, ‘हामी प्रत्येकमा केही मात्रामा जोनी जीवित छन्। उनी फ्रान्सेली जनताका पुस्तापुस्तामा जीवित रहनेछन्।’ अमेरिकी गिटारिस्ट लेनी क्राभिजले पनि जोनीको मृत्युमा समवेदना दिएका छन्।
एल्भिसबाट प्रभावित गायक जोनीले सन् १९५० को दशकमा फ्रान्सेली शास्त्रीय ‘चान्सन’ परम्परालाई तोडेका थिए र रक एण्ड रोल गायनलाई फ्रान्सेली संगीतमा सुरु गरेका थिए। ‘उनले फ्रान्समा रक एण्ड रोल भित्र्याएका थिए। उनी त्यस्ता थोरै यागकमध्ये पर्छन्, जसलाई मानिसले स्टेजको प्राणी भन्छन्’, पत्रकार फिलिप ले कोरले भनेका छन्। उनी अविश्वसनीय र अचम्मका पात्र भएको उनको भनाइ छ। ‘हरेक उमेरका मानिसले उनलाई मनपराउँछन्’, उनले भनेका छन्। फ्रान्समा उनी जति सफल भए, अमेरिकी र अंग्रेजीभाषी बजारमा सफल हुन सकेनन्। एकपटक अमेरिकी अखबार युएसए टुडेले जोनीलाई ‘कहिल्यै नसुनिएका महान् रक स्टार’ भनेको थियो। हलिडे उनको कडा मिहिनेत र झण्डै अविराम सांगीतिक यात्राका कारण प्रसिद्ध छन्। सँगसँगै स्टेजमा र स्टेजबाहिर पनि प्रभावकारी रक गायनका लागि पनि उनी चर्चित छन्। लागूऔषध, मदिरा र धुमपानसँगै पाँच विवाहका कारण उनको जीवनमा नकारात्मक छवि पनि बनिरह्यो।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।