

१९ मंसिर, चौतारा (सिन्धुपाल्चोक) – २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन सुरु भएको छ ।
खोलामा पानी घटेको कारण हाल १ दशमलब ८ देखि २ मेगावाट विद्युत उत्पादन भइ लामोसाँघुस्थित सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख एम थापाले जानकारी दिए । निजी क्षत्रको युनिक हाइडेल प्रालिद्वारा निर्माण भएको सो आयोजना ४ दशमलब २ मेगावाट क्षमताको छ । जुगल गाउँपालिकाअन्तर्गत साविक बरम्ची गाविसस्थित बरम्ची खोलामा सञ्चालित क्षतिग्रस्त सो आयोजनालाई मर्मत गरी २०७३ साउन ४ गते सञ्चालनमा ल्याइए पनि बाढी र पहिरोले तीन दिनपछि आयोजनालगायत सर्वसाधारणको कैयौं रोपनी जग्गा जमिन समेत पुरेको थियो । भू–गर्भविद्का अनुसार पेनस्टक पाइप राखिएको स्थान कमजोर भू–भाग भएका कारण करिब २५० मिटर सुरुङ मार्ग निर्माणको लागि अध्ययन गर्ने सोचाइ भइरहेको आयोजना प्रमुख थापाले बताए ।लामो समयसम्म आयोजना बन्द भई पटकपटक मर्मत गर्नु पर्दा आयोजनाले करोडौँ घाटा बेहार्नुपरेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।