काठमाडौं : सामुन्द्रिक चक्रवातको कारण दुई दिनदेखि काठमाडौं लगायत देशभरको मौसममा बदली भएको छ। काठमाडौंसहित केही ठाउँमा घाम नलाग्ने, चिसो बढ्ने, बादल लाग्ने भएको छ भने पश्चिमी क्षेत्रमा छिटपुट वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिए।  ‘सामुन्द्रिक चक्रवातको कारण दुई दिनदेखि काठमाडौंसहित केही क्षेत्रको मौसम पूर्ण रुपमा बदली भएको छ। यस्तो मौसम अझै दुई चारदिनसम्म रहन सक्छ’ उनले भने। मंगलबार बिहान पश्चिम नेपालको केही जिल्लाहरुमा छिटपुट वर्षा पनि भएको छ। अरब सागरमा केही दिनदेखि सक्रिय रहेको ओक्सी चक्रवातको कारण नेपालको मौसममा प्रभाव परेको हो। जसका कारण दुई दिनदेखि बिहानमा बदली हुने र देशको पश्चिमी भेगमा छिटपुट बर्षासमेत भइरहेको छ। यो क्रम आउँदो शुक्रबारसम्म रहने सम्भावना रहेको मौसमविद श्रेष्ठ बताउँछन्।  अरब सागरमा केही दिनदेखि सक्रिय रहेको ओक्सी चक्रवातले लामो समयसम्म प्रभाव पार्ने हुँदा शुक्रबारसम्म काठमाडौं उपत्यका र पूर्वी भागमा आंशिक बदली भए पनि देशको पश्चिमी भागमा पूर्णरुपमा बदलीसहित वर्षा हुने सम्भावना छ। पश्चिम र मध्य हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए। ‘चक्रवातको असर लामो समयसम्म रहने भएकोले चुनावको दिनसम्म नेपालको पूर्वी क्षेत्र र काठमाडौंमा आंशिक बदली भए पनि देशको पश्चिमी क्षेत्रमा पूर्ण रुपमा बदली भई वर्षा हुने सम्भावना छ’ मौसमविद् श्रेष्ठले भने।

थाहा खबरबाट