१९ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले २१ गते ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् ।उनले ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताहरुको लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु।’यद्धपी उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेद्धवारलाई लक्षित गरेर घटाईएका घट्नाहरुप्रति खेद व्यक्त गरे । यादवले थपे,‘म यस्ता घट्नाहरुप्रति दुःख व्यक्त गर्दछु, आयोग घट्नाको भत्र्सना गर्छु।’
उनले निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएको समेत बताए । उनले भने,‘निर्वाचनको तयारीको क्रममा व्यापक जनसहभागिता देखिएको छ, आम मतदाताहरुमा उत्साह छाएको छ, यो निर्वाचनलाई हामीले त पर्वको रुपमा लिएका छौं, त्यसैले दृढतापूर्वक मतदान गर्न म यही मञ्चबाट आह्वान गर्दछु।’
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।